रौतहट, चैत १५ । रौतहटको गरुडा नगरपालिका-४ तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट स्थानीय शेख कमाउदिनको फुसको घरमा रहेको मासु पसल, नेवालालको फुसको घरमा रहेको किराना पसल, जयमङ्गल चौधरीको फुसको घरमा रहेको खाजा पसल, कृष्ण दासको पक्की घरमा रहेको कपडा पसल गरी ७ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहान साढे नौ बजे सुरु भएको आगलागी स्थानीय बासिन्दा, नगर प्रहरी तथा नेपाल प्रहरी एवम् सशस्त्र प्रहरीको संक्युक्त प्रयासबाट नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा आएपछि गरुडा नगरपालिकाको मिनी दमकल तथा गौर नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेर निभाएको स्थानीय कमल जयसवालले बताए।
आगलागीबाट लगभग १३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए । आगाे लाग्नुको कारण खुल्न नसकेको तथा घटनाको अनुसन्धान जारिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रायले बताए । सभार- गोरखापत्र