Tuesday, April 1, 2025

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम १७ चैत । धनुषाको जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीहरुको पक्राउको माग गर्दै जनकपुर– जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएको छ । स्थानीयले ढुङ्गामुढा गर्दै प्रहरीलाई लखेटेका छन् । झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय समान्य घाइते भएका छन् । यद्यपि अहिलेसम्म विवरण आउन सकेको छैन ।

अहिलेसम्म कति सेल अश्रु ग्यास प्रहार भएको र घाइते भएको भन्ने विवरण एकिन नभएको धनुषाका प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थिए ।

घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । तर उनलाई छुरा दिने स्थानीय रामवरण महतोका छोरा राकेश महतो लगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् ।घटनाको दुई साता पुग्दा समेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले आज बिहान ८ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले एकपटक बाटो खुलाए पनि पुन स्थानीय बासिन्दाले अवरुद्ध गरेको एसपी तिवारीको भनाइ छ ।

गत चैत १३ गते पनि आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । स्थानीयका अनुसार त्यस दिन प्रहरीले दुई दिनभित्र थप अपराधीहरूलाई पक्राउ गर्ने आश्वासन दिएपछि खुलाइएको थियो । यता एसपी तिवारीले त्यसदिन कुनै प्रकारको सहमति नभएको जिकिर गरे ।

छुरा प्रहार घटनामा संलग्न भनिएका केही व्यक्तिहरू फरार भएर भारतमा लुकेकाले पक्राउ गर्न नसकिएको एसपी तिवारीको भनाइ छ । उनले चुरा प्रहार घटनाका मुख्य दोषी धर्मेन्द्रलाई पक्राउ गरिसकेको र अन्यको खोजी कार्य जारी रहेको एसपी तिवारीले बताए ।

छ महिनाअघि श्रीमान् पप्पुको मृत्यु भएको थियो । उनका एक्ला छोरा गुमेपछि अर्चना सहाराविहीन बनेकी छन् ।

लोकप्रिय