नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो देखाएका छन्।
उनले डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर किन नबनाउने भनेर आफ्नै दल नेकपा एमालेका एक मन्त्रीलाई सोधेका हुन्।
वर्तमान गभर्नर राष्ट्र बैंकबाट बाहिरिन ८ दिन मात्र बाँकी छ। सरकारले नयाँ गभर्नरका लागि अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ।
समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुअघि प्रधानमन्त्री ओलीले सक्रियता देखाएको ती मन्त्री बताउँछन्।
‘स्वयं प्रधानमन्त्री (केपी शर्मा ओली)ले नै नीलम ढुंगानालाई गभर्नर किन नबनाउने भनेर सोध्नुभएको थियो’, ती मन्त्रीले नेपालखबरसँग भने, ‘मैले यसबारे अर्थमन्त्रीज्यूसँग भनेको थिएँ, उहाँले केही भन्नुभएन।’

शक्तिकेन्द्रको प्रमुख ध्यान रहेको नेपाल राष्ट्र बैंकको गभर्नर आफूनिकट व्यक्तिलाई बनाउन सरकारमै रहेका दुई ठूला दलहरु लागिपरिरहेका छन्।
दलहरुको आडमा अहिले गभर्नर बन्न राष्ट्र बैंककै क्याडरदेखि निजी क्षेत्रका व्यक्तिहरु पनि प्रतिस्पर्धाको दौडमा होमिएका छन्।
योबीचमा एमाले र कांग्रेस दुवै दलको साथ नीलमले पाउने सम्भावना बढिरहेको बेला प्रधानमन्त्रीले उनको नाम लिनुलाई पनि महत्त्वका साथ हेरिएको छ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिँदै छ। सरकारले उनको कार्यकाल सकिनुअगाडि नै नयाँ गभर्नर नियुक्त गर्ने गरी अन्तिम तयारीमा जुटिरहेको छ।
यो अवस्थामा प्रमुख दाबेदारका रुपमा डेपुटी गभर्नरहरू नीलम ढुंगाना र बम बहादुर मिश्र अगाडि छन् भने राष्ट्र बैंकबाट कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएरै प्रतिस्पर्धाको तयारीमा रहेका राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश श्रेष्ठ, राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्ट छन्।
यता नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा लागेका ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरको दाबेदारको रूपमा छन्।