२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको स्वीकार गरेका छन् ।
सरकारले गठन गरेको राजनीतिक संयन्त्रले भनेको कुरा सरकारले टेर्ने नगरेको उनको आशय थियो । काठमाडौंमा कांग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महाममन्त्री थापाले भने, ‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु । संयन्त्रको काम सरकारले लिने नीतिगत सुधारको विषयमा बल पुर्याउने हो । केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौं । तर बिंड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ ।’
एमाले–कांग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धि दिन नसकेको कारण आफूले सधैं प्रश्न गरिरहेको उनले बताए । ‘संवैधानिक राजसंस्थाप्रति कांग्रेसको सम्मान राजाहरूलाई पचेन’
महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनैपनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरे ।
थापाले कांग्रेसले संवैधानिक राजसंस्थाप्रति सदैव सम्मान गरे पनि राजाहरूलाई नपचेको बताए ।
‘बीपी कोइरालामाथि राजद्रोहसहित ७–७ मुद्दा लाग्दा पनि बोकेर हिंड्नु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संवैधानिक राजसंस्था भन्नु भयो । तर राजाले भने उल्टै कांग्रेसलाई नै दुःख दिने काम गर्यो,’ उनले भने ।
कांग्रेसले लामो संघर्ष र अनुभवबाट संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उनले स्पष्ट पारे ।
निर्मल निवासबाटै पूर्वराजाले उत्पात मच्चाइरहेको थापाको आरोप थियो । ‘अहिले निर्मल निवासमा हुँदा त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमा नै भएको भए त के हुन्थ्यो, कल्पना गर्नु त,’ उनले भने ।
शााहलाई धोएर जति सफा गरेपनि संवैधानिक राजा बन्न योग्य नरहेको उनको भनाइ छ ।