Saturday, June 28, 2025

स्वर्गीय रामा यादव स्मृति पत्रकारिता पुरस्कार शारदा पोखरेल र चाँदनी झालाई

रौतहट, बैशाख २९ । स्वर्गीय रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१/२०८२ को घोषणा कार्यक्रम रामा यादव स्मृति प्रतिष्ठान रौतहटको आयोजनामा आइतबार सम्पन्न भएको छ ।

स्वास्थ्य क्षेत्रमा निरन्तर रुपमा कलम चलाउने एक जनालाई नगद २६ हजार १ रुपैयाँ पुरस्कार दिने उद्देश्यले २०७९ सालमा स्थापना गरिएको सो पुरस्कार ४ वर्षसम्म निरन्तरता दिइएको छ ।

रौतहट जिल्लामा पहिलो टेलिभिजनको स्थापना गरिने जय रामा मिडिया प्रा लि का संस्थापिका रामा यादवको २०७८ साल बैशाख २८ गते कोभिड संक्रमणको कारण दुःखद निधन भएपछि स्वास्थ्य उपचारको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउनु नपरोस् भन्ने लक्ष्यसहित स्वास्थ्य क्षेत्र सुधारको लागि पत्रकारिताको माध्यमबाट दबाब सिर्जना गर्ने एक जना महिला पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले पुरस्कारको स्थापना गरिएको हो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति संजय कार्कीले २०८१ को लागि छनौट भएकी सिमरा बाराका रेडियो समर्पणका प्रमुख एवम् रातोपाटी अनलाइनका सम्बाददाता शारदा पोखरेल र २०८२ का लागि छनौट भएकी खुट्टा पिपराढी ४ महोत्तरीकी टीभी टुडे जनकपुरमा कार्यरत चाँदनी झाको नाम घोषणा गर्दै छनौट भएकी दुवै जना महिला पत्रकारलाई बधाई दिएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै यस्तो कार्यको थालनी गर्नु हुने रामा यादव स्मृति प्रतिष्ठानका संरक्षक जय प्रकाश यादवलाई धन्यवाद ज्ञापन गरे ।

अहिलेको अवस्थामा पत्रकारिता पेशालाई मर्यादित र सभ्य बनाउनु पर्ने ठूलो चुनौती रहेकोले जिल्लाका सबै सन्चारकर्मीलाई पेशागत मर्यादा कायम गर्दै अघि बढ्न सुझाव दिए ।

संचार क्षेत्रमा संचार उद्यमी स्वर्गीय रामा यादवको भूमिका निकै महत्वपूर्ण भएको चर्चा समेत गरे । उनले देखेको सपना पूरा गर्न सम्पूर्ण सन्चारकर्मीले सहयोग गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य शिव पुरीले सामाजिक संजालमा देखिएको विकृति विसंगतिलाई नियन्त्रण गर्नु पर्ने जोड दिए । एक पत्रकारले अर्को पत्रकारलाइ लक्षित गरी प्रयोग गर्ने शब्दको कारण पत्रकारप्रति वितृष्णा फैलिँदै गएको सभ्य रुपमा सामाजिक संजाल प्रयोग गर्न आग्रह गर्दै समाजको परिवर्तनका लागि भूमिका निर्वाह गर्न आग्रह गरे ।

वरिष्ठ पत्रकार प्रभात कुमार झाले कोरोना भाइरसको बेला २ जना सन्चारकर्मी गुमाएको पीडा भुल्न नसकेको बताए । रामा यादव र मनोज चौधरीको भएको निधनले सबै पत्रकार मर्माहित भएको अवस्था रहेको उल्लेख गरे ।

जयप्रकाश यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्वअध्यक्ष शैलेन्द्र गुप्ता, प्रेमचन्द्र झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष सुब्बा कार्की, श्रमजीवि पत्रकार संघ नेपाल रौतहटका अध्यक्ष शन्तोष पौडेल लगायतले आफ्नो आफ्नो धारणा राखेका थिए ।

पत्रकार राकेश कुमार यादवले संचालन गरेको कार्यक्रममा विभिन्न संचारमाध्यम संघ आवद्ध रहेका पत्रकारहरुको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ ।

लोकप्रिय