माघ २४ । प्रतिनिधि सभा बैठकमा सांसदहरूले सर्लाहीको अन्तरजातीय विवाहको घटना र त्यसमा प्रहरीको भूमिकालाई लिएर गृहमन्त्री रमेश लेखकसँग जबाफ मागेका छन्।

बिहीबार दिउँसो १ बजेदेखि सुरू भएको बैठकको आकस्मिक समय र शून्य समयमा बोल्ने सांसदहरुले उक्त घटनामा गृहमन्त्रीको आलोचना र उनीमाथि प्रश्न गरेका हुन्।
एमाले सांसद हर्कमाया विकले सर्लाहीका सत्यन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई अन्तरजातीय विवाह गरेकै कारण राज्यले ज्यादती गरेको आरोप लगाउँदै त्यसको भर्त्सना गरिन्।
‘यस घटनाले जातीय विभेद मात्रै होइन। यसमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अन्याय गरेको छ,’ उनले भनिन्।
विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्यशक्तिको दुरूपयोग गरेर जबरजस्ती छुट्याउन खोजेको आरोप छ।
अन्तरजातीय विवाह भएकै कारण अदालतले पनि विवाह दर्ता नै नहेरी धरौटी माग गर्नेदेखि लिएर प्रहरीले धरपकड गरेको सांसद विकले बताइन्।
अन्तरजातीय विवाह गर्नेलाई राज्यले लखेटीलखेटी छुट्याउन खोज्यो,’ उनले भनिन्।
माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले आकाशमा नयाँ संसार बसाल्ने होडबाजी भइरहँदा नेपालमा भने एउटा मानवबाट अर्को मानवमाथि हुने हिंसाको विषयलाई लिएर संसदमा बहस गरिराख्नुपरेको बताए।