रौतहट, २८माघ । रौतहट निजामती कर्मचारी युनियन रौतहट जिल्ला कार्य समितिद्वारा आयोजित नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभा कक्ष गौरमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिसँगै कर्मचारी हकहित, निष्पक्षता, तटस्थता, तथा कर्मचारी एकताको विषयमा गहन छलफल गरिएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन परम्परागत रूपमा रुखमा पानी हालेर गरिएको थियो । वातावरणप्रति सम्मान प्रकट गर्ने सांस्कृतिक परम्पराका माध्यमबाट संगठनले हरियाली संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारीलाई समेत सन्देश दिन खोजेको आयोजकहरूको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता इसराजुल खाँले गरेका थिए भने नेपाली कांग्रेस रौतहट कार्य समितिका सचिव रामचन्द्र गिरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रमलाई थप गरिमामय बनाउन विशिष्ट अतिथिका रूपमा रौतहट क्षेत्र न. २ का सासंद प्रत्याशी फिरदोस आलम, राजपुर नगरपालिकाका नगर प्रमुख राजिक आलम, तरुण दलका पूर्व अध्यक्ष नौसाद आलम, युनियनका केन्द्रीय सदस्य चन्चल पोखरेल, सन्जय कुमार साह तथा मधेस प्रदेशका शम्भु महतो कोइरी,रौतहट क्षेत्र २ का क्षेत्रीय सभापति लालबिहारी साह, तथा मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताजस्ता विशिष्ट अतिथि व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सल्लाहकार कृतिराज सुबेदीले पनि कार्यक्रममा विशेष भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सञ्चालन दुर्गा प्रसाद चिमौलियाले गरेका थिए ।
उद्घाटन समारोहमा प्रमुख अतिथि रामचन्द्र गिरीले निजामती कर्मचारीहरूको भूमिकालाई थप प्रभावकारी बनाउन संगठनले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पार्दै सरकार र कर्मचारीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आग्रह गरे । उनले भने निजामती सेवा मुलुकको मेरुदण्ड हो । कर्मचारीहरूको निष्पक्षता, तटस्थता र संगठनात्मक एकता नै सुशासनको आधार हो ।
रौतहट क्षेत्र न. २ का सासंद प्रत्याशी फिरदोस आलमले निजामती कर्मचारीहरूको हकहित संरक्षण गर्न संगठन निरन्तर क्रियाशील रहेको बताउँदै आगामी दिनमा अझ बलियो रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे । निजामती कर्मचारीहरूलाई तटस्थ, निष्पक्ष र जनमुखी सेवा प्रदान गर्न प्रेरित गर्दै संगठनलाई अझ बलियो बनाउन आह्वान गरे ।
राजपुर नगरपालिकाका नगर प्रमुख राजिक आलमले भने नेपाल निजामती कर्मचारी युनियनले कर्मचारीहरूको हकहित संरक्षण गर्दै उनीहरूको सेवा, सुविधामा सुधार ल्याउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । अधिवेशनले नयाँ नेतृत्व चयनका साथै संगठनलाई अझ क्रियाशील बनाउने महत्वपूर्ण रणनीति निर्माण गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा उपस्थित कर्मचारी तथा अतिथिहरूले अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल निजामती कर्मचारी युनियन, रौतहटको नवौं जिल्ला अधिवेशनले कर्मचारीहरूको अधिकार, संगठनात्मक सुदृढीकरण, निष्पक्षता, तथा तटस्थताको महत्त्वलाई पुनः उजागर गरेको छ । संगठनलाई अझ प्रभावकारी बनाउने दिशामा अधिवेशन कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।
सो अधिवेशनबाट अध्यक्ष पदमा इसराजुल खाँ, प्रदेश प्रतिनिधिमा मालपोत कार्यालय गरुडा रौतहटको लेखापाल नवीन यादव चयन भएको छ ।

