हेटौंडामा ठडियो देशकै अग्लो बुद्धमूर्ति

0
428

हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो (ढुंगाको) बुद्धमूर्ति अनावरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नांगेलले मूर्ति अनावरण गरेका हुन् ।

करिब ३ वर्ष लगाएर तयार पारिएको उक्त मूर्ति वागमती प्रदेशको सबभन्दा अग्लो र देशकै दोस्रो अग्लो बुद्धमूर्ति हो । यसअघि जोमसोम (मुक्तिनाथ) मा ३३ फिट अग्लो मूर्ति स्थापना गरिएको थियो ।

मूर्ति निर्माण समिति अध्यक्ष सम्पूर्णकुमार लामाको सभाध्यक्षतामा मूर्ति अनावरण कार्यक्रम भएको हो । बौद्ध धार्मिक महत्वको मूर्ति अनावरण हुँदा वडा नम्बर–१८, गुम्बाडाँडालाई धार्मिक पर्यटन क्षेत्रका रुपमा क्रमशः विकास हुँदै जाने वडा अध्यक्ष अनिल बानियाँले बताए ।

करिब १ करोड ४४ लाख लागतमा बुद्धमूर्ति तथा बोधीचैत्य (स्तुपा) निर्माण गरी अनावरण गरिएको हो । काठमाडौं–६, बौद्ध निवासी बरिष्ठ समाजसेवी सूर्यबज्र लामा, समाजसेवी दुर्गामान शाक्य, सुभासराज शाक्य, सान्तरत्न शाक्य, किरणरत्न शाक्य, राजेश्वरी श्रेष्ठ, हेटौंडाका कमलचन्द्र सुमन र डा. बसन्तमान श्रेष्ठको सक्रियतामा गुम्बाडाँडामा बुद्धमूर्ति अनावरण गरिएको हो । मकवानपुरका समाजसेवी एवम् मूर्ति निर्माण समितिका उपाध्यक्ष ज्योतिरत्न बज्राचार्यले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

गुम्बाडाँडास्थित पर्यटकीय पार्कमा अनावरण गर्ने तयारीमा रहेको मूर्ति कोरोना सन्त्रासका कारण भएको लकडाउनका कारण प्रतिस्थापन हुन सकेको थिएन । ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले ढुंगाको मूर्ति कुँदेका थिए । लकडाउनका कारण मूर्ति ल्याएर अनावरण गर्न नसकिएको बुद्धमूर्ति निर्माण समिति संयोजक कमलचन्द्र सुमनले बताए ।

काठमाडौंका समाजसेवीहरुले मूर्ति निर्माणका लागि १ करोड ४४ लाख जुटाएका थिए । वागमती प्रदेश सरकारले मूर्ति प्रतिस्थापन गर्ने स्थान निर्माण र मूर्ति रहने स्थानसम्म पुग्ने सिँढी निर्माणका लागि ३५ लाख रुपियाँ उपलब्ध गराएको थियो भने १८ नम्बर वडाले ५ लाख रुपियाँ उपलब्ध गराएको थियो ।

हर्नामाडीस्थित ‘कलागाउँ’ का रुपमा परिचित गुम्बाडाँडालाई बौद्धमय बनाउन शाक्यमुनि गौतम बुद्धको मूर्ति स्थापनाका लागि काम अगाडि बढाइएको थियोे । मूर्ति स्थापना समिति संयोजक हेटौंडाका समाजसेवी सुमनले मूर्ति स्थापनापछि उक्त क्षेत्रको मुहार फेरिने बताए ।

मूर्ति निर्माण समितिले काठमाडौंको बौद्धमा गरेको पहिलो चरणको कार्यक्रममा एकै दिन १६ लाख ४० हजार रुपियाँ सहयोग संकलन भएको थियो । मूर्तिका लागि आवश्यक ढुंगा कुलेखानी, फर्पिङ, पनौती र दक्षिणकाली जंगल क्षेत्रबाट लगिएको थियो ।

उनका अनुसार मूर्ति स्थापनासँगै उक्त क्षेत्रमा विभिन्न भवनहरु, पानीट्यांकी, मनोरञ्जन पार्क, कम्पाउण्डवाल, निर्माणाधीन ध्यान केन्द्र बनेका छन् । सुमनले उक्त क्षेत्रको नेपाल एकीकरणताकाको इतिहास, मूर्ति स्थापनाको अवधारणा, आवश्यकता, उद्धेश्य र लागत आदिबारे प्रकाश पारेका थिए । निर्माण समिति सचिव दुर्गामान शाक्यले मूर्ति स्थापनापछि आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन गर्ने अबस्था न्यून हुने विश्वास व्यक्त गरे ।

गुम्बाडाँडा हेटौंडा बजारबाट करिब १७ किमी पूर्व दक्षिणमा पर्दछ, जहाँ पछिल्लो समय बिदाका दिन आन्तरिक र वाह्य पर्यटकको भीड लाग्ने गरेको छ । गुम्बाडाँडा क्षेत्रमा रहेको बस्ती हटाएर २०३५ सालमा मानिसलाई चितवन पठाइएको थियो । २०४२ सालमा उक्त क्षेत्रमा वृक्षरोपण भयो ।

संरचनागत्रुपमा सरकारी जमिन देखिएकाले २०५४ सालमा गुम्बाको स्थापना भएको रेकर्ड छ । सल्लाघारी भनिने ठाउँमा गुम्बा स्थापनापछि ‘गुम्बाडाँडा’ नामाकरण भएको हो । गुम्बा स्थापनापछि सामाजिकरुपमा चहलपहल हुँदै गर्दा सुरुवाती हिसाबमा मंगलसिं लामाको नेतृत्वमा २०६१/६२ ताका उक्त क्षेत्र स्थापना गरिएको हो ।

२०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरु त्यहाँ छन् । नेपाल र अन्य ५ देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको छ । हाल पिकनिक क्षेत्र र मूर्तिकला सम्बन्धि ज्ञान लिन जसलाई इच्छा छ, त्यहाँ पुगेका हुन्छन् ।

धरान–चतरा मार्गनजिक उक्त क्षेत्रमा पर्यटनको सम्भावनाका स्रोत धेरै छन् । हेटौंडामा मानिसको चाप बढ्दो छ । केवल १७ किलोमिटर परको क्षेत्र भएकाले दुरीका हिसाबबाट पनि एकान्त गुम्बाडाँडा पुगिसकेपछि त्यहाँको दृष्य आफैंमा मनमोहक छन् । ४.२५ हेक्टर क्षेत्रमा प्रतिष्ठान छ । यसको क्षेत्र बढाउन आवश्यक समन्वय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here