हेटौंडा–सरकारले निःशुल्क दिने भनिएको जीवन जल र सिटामोलसमेत मनहरीका स्वास्थ्य संस्थाहरुमा उपलब्ध छैन भन्दा जोकोहीलाई पत्यार नलाग्न सक्छ । तर, पालिकाकै सबभन्दा ठूलो स्वास्थ्य संस्था मनहरी अस्पतालमा निःशुल्क पाउनुपर्ने जीवन जल, सिटामोल (सिरप) पाइँदैन ।

त्यसो त मनहरी अस्पतालमा तीन सातादेखि डाक्टरसमेत उपस्थित छैनन् । अस्पतालमा सेवारत् डाक्टर अञ्जनजंग थापा चैत १६ गतेदेखि अस्पतालमा उपस्थित छैनन् । उनी सरुवा भएर काठमाडौं गएको बताइएको छ ।

सरकारले स्वास्थ्य केन्द्रहरुमा निःशुल्क उपलब्ध गराउने ७० थरिका औषधीहरुमा जीवन र सिटामोल पनि पर्छ । तर, सामान्य बिरामीले मनहरी अस्पतालसहित अन्य स्वास्थ्य संस्थाहरुबाट निःशुल्क जीवनजल नपाएको धेरै समय भएको स्वास्थ्यकर्मीले बताएका छन् । मनहरी अस्पतालमा भने स्वास्थ्य बीमा गरेका बिरामीले बीमामार्फत् औषधी पाइरहेका छन् ।

संघीय सरकारले स्वास्थ्य संस्थालाई उपलब्ध गराउने औषधीबापत् रकम स्थानीय सरकारको खातामा पठाउने गर्छ । संघीय सरकारले पठाएको रकम अपुग भए स्थानीय सरकारले आफैले थपेर पनि औषधी खरिद गरी आफू मातहतका स्वास्थ्य संस्थालाई उपलब्ध गराउनुपर्नेमा आएको रकमसमेत कार्यान्वयन नभएको पाइएको छ । आर्थिक वर्षको सुरुमै ठेक्का प्रक्रियामार्फत् औषधी खरिद गरी सम्बन्धित सबै स्वास्थ्य संस्थाहरुमा पठाउनुपर्नेमा मनहरी गाउँपालिकाले हालसम्म औषधी खरिद गरी व्यवस्थापन गर्न सकेको छैन ।

आन्तरिक समस्याका कारण औषधी खरिदका लागि ठेक्का प्रक्रिया ढिलाइ भएको स्वास्थ्य संयोजक टीकाराम अधिकारीले बताए । ‘असोजमै ठेक्काको सूचना तयारी गरेको थिएँ,’ अधिकारीले भने–त्यतिखेर हामीहरुकै आन्तरिक समस्याका कारण प्रक्रिया अघि बढ्न सकेन ।

तुरुन्त ठेक्का प्रक्रिया अघि बढ्ने पनि अधिकारीले जानकारी दिए । औषधी खरिद नहुँदा मनहरीका ९ वटै वडामा स्थापना भएका स्वास्थ्य एकाईंमा औषधी अभाव छ । औषधी नै नभएपछि स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवामा नकारात्मक असर पर्ने र बिरामीले विश्वास गरेर स्वास्थ्य संस्थामा जाने वातावरण नहुने स्वास्थ्यकर्मी बताउँछन् ।

मनहरी अस्पतालमा भने गत आर्थिक वर्ष खरिद गरिएका केही औषधीहरु स्टक रहेको सिनियर अहेव शिवराम बानियाँले बताए । ‘अत्यावश्यक ठानिएका सिटामोल झोल र जीवन जललगायत निःशुल्क औषधीहरु नभए पनि ३० प्रतिशत्जति निःशुल्क औषधीहरु अस्पतालमा छन्,’ बानियाँले भने–स्वास्थ्य बीमा गरेका बिरामीहरु धेरै आउने भएकाले हामीले बीमामार्फत् जीवन जल, सिटामोल र अन्य औषधीहरु व्यवस्थापन गरेका छौं ।
मनहरीमा ७ नम्बर वडामा मनहरी अस्पताल छ भने ३ नम्बर वडामा हाँडीखोला स्वास्थ्य चौकी छ । बाँकी सबै वडामा आधारभुत स्वास्थ्य एकाईं गाउँपालिकाले स्थापना गरी हरेक एकाईंमा ३ जना जनशक्ति व्यवस्थापन गरेको छ । तर, औषधी पर्याप्त उपलब्ध नहुँदा स्वास्थ्यकर्मीहरुको काम प्रभावकारी बन्न नसकेको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here