‘स्वाभिमान’ को चुनौती दिँदै पार्टीबाट बिदा भए अधिकारी

0
404

हेटौंडा–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका हुन् ।

पार्टी स्थापनाकालदेखि ३२ वर्ष राप्रपामा लागिपरेका नेता अधिकारीले पार्टीमा अपमानित र अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्ति हावी भएको भन्दै राप्रपाबाट अलगिएको जनाएका छन् । ‘राप्रपामा क्रियाशील भइ जीवनका ऊर्जाशील समय व्यतित गरें । भावी दिनमा राप्रपासम्वद्ध कोहीसँग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरैसँग नजिक भएँ,’ अधिकारीले भनेका छन्–माया, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथी छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसँग कुनै मूल्यमा सम्झौता नगर्ने दृढतासाथ अत्यन्त भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।

नेता अधिकारीले आफ्नो निर्णय सही वा गलत भन्ने निक्र्यौल भविष्यलाई छाडेको बताउँदै यसलाई अवसर नपाउदँको पीडा वा रोदनका रुपमा मात्र नबुझ्न आग्रह गरेका छन् । आफू राप्रपाको विचार बोकेका कारण तिरस्कृत र अपहेलित भएको मात्र नभइ मृत्युसँगनजिक पुगेको कारुणिक दृष्य सम्झिँदा भावुक हुने गरेको भन्दै उनले भावी दिनमा राप्रपासम्वद्ध कोहीसँग गुनासो नरहने बताएका छन् ।

अधिकारीले राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनवरत्रुपमा रगत र पसिना बहाइरहेको, सकेको बल, बुद्धि, श्रम, सिप लगाउँदै आफ्नो क्षमताअनुसार सकेको आर्थिक लगानी पनि गरेको, सिद्धान्तलाई केन्द्रमा राखेर अघि बढेको तर पार्टीमा मूल्यांकन नभएको गुनासो गरेका छन् ।

नेता अधिकारीले कठिन, असहज र चुनौतीपूर्ण अवस्थामा पार्टीलाई स्थापित गर्न लागिपरेको भन्दै विज्ञप्तिमा लेखेका छन्–पार्टीमा विभिन्न उतारचढाव आयो, संघर्ष र कठिन दिन पार गरें । यसबीचमा पार्टी शून्य अवस्थामा पुग्यो । यस्तो कठिन, असहज र चुनौतीपूर्ण अवस्थामा पनि पार्टीलाई स्थापित गर्न सकिन्छ कि भन्ने आत्मविश्वाससाथ अघि बढें । पार्टीलाई सकेको योगदान दिने कुरामा जहिल्यै अग्रसर भइरहें । पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउन प्रयास गरिरहें । वास्तवमा मेरो तीन दशक लामो राजनीतिक यात्रामा मैले कमाएको सम्पत्ती भनेको इमान्दारिता, नैतिकता र जनताको स्नेह नै हो ।

अधिकारीले आफ्नो राजनीतिक जीवनभर निष्ठाको राजनीति गरेर कुनै लाभको पदमा बसेर फाइदा नलिएको बरु सधैं कठिन परिस्थितिमा दुःखकष्ट गरेको बताएका छन् । तर, पार्टीभित्र ‘काम गर्ने कालु, मकै खाने भालु’ प्रवृत्ति मौलाएकाले आफू पार्टीबाट अलग हुनुपरेको उनको भनाइ छ ।

पछिल्लो समय अनुकूलताको राजनीति, मौसमी राजनीति, सामन्ती र सर्वसत्तावादी चिन्तन अनि प्रवृत्ति हाबी भएको र त्यही प्रवृत्तिसँग केन्द्रीय नेतृत्व नतमस्तक भएको भन्दै अधिकारीले नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शीर्ष नेताको निर्णय अदुरदर्शी, अपरिपक्व र अन्यायपूर्ण देखिएको निष्कर्ष निकालेका छन् । ‘नेतृत्वले गर्ने मूल्य, मान्यता र आदर्शको कुरा ढोङ शिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ ग¥यो । कुनै कार्यकर्ताको मेहनत र लगनको मूल्यांकन त परै जाओस्, उल्टै हुर्मत लिने र तेजोवध गर्ने काममा नेतृत्व तह हतियारका रुपमा प्रयोग भयो । कसले दुःख गरेको छ, कसले मेहनत गरेको छ, हेक्का राख्न नसक्ने लाचार, निरीह नेतृत्वसँग बसेर एउटा स्वाभिमानी व्यक्तिले कसरी काम गर्नसक्छ ?’ नेता अधिकारीको प्रश्न छ ।

राप्रपाभित्र योगदान दिने व्यक्तिको मूल्यांकन नहुने र पछिल्लो समय कहींकतै भूमिकानिर्वाह नगरेको व्यक्तिले मौका पाउने परिपाटी अस्वीकार्य भएको अधिकारीको ठम्यार्इं छ । सधैं कठिन घडीमा पार्टीलाई थाम्ने काम गरेको तर सहज र अनुकूल वातावरणमा एउटै व्यक्तिले मात्र अवसर पाउने प्रवृत्ति पार्टीमा हावी भएको अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पछिल्लो कालखण्डमा पार्टीमा योगदान गरेर राप्रपा मकवानपुरको अस्तित्व जोगाउन सफल भएर एउटा भूमिका बनाएको व्यक्तिको मानमर्दन गरिएको भन्दै अधिकारीले आफूहरुले बनाएको जग र मेहनतको अवमूल्यन भएको ठहर गरेका छन् ।

उनले भनेका छन्–अराजक र अवसरवादीले भोलि पार्टीलाई आफ्नो स्वार्थपूर्तिका लागि जे पनि गर्नसक्ने सम्भावना टड्कारो छ । पार्टी नेतृत्व पनि त्यसमा संलग्न भएको देखिन्छ । यसले एउटा स्वाभिमानी राजनीतिक व्यक्तिको निष्ठा र आत्मसम्मानमाथि गम्भीर प्रश्न उठाएको छ । अपमानित, अपहेलित भएर स्वाभिमानमाथि प्रश्न उठिसकेको अवस्थामा पनि अन्यायविरुद्ध विद्रोह नगरी निरीह भइ त्यसकै साक्षी बस्न मेरो आत्माले स्वीकृति दिएन । अन्यायविरुद्ध सतिसाल बनेर खडा हुने निष्कर्षमा पुगेको छु । उनको यस्तो निर्णयले गत स्थानीय तह निर्वाचनमा करिब ७ हजार मत ल्याउन सफल पार्टीलाई यसपटकको निर्वाचनमा कति प्रभाव पार्ला, त्यो निर्वाचनको नतिजाले देखाउनेछ । उक्त पार्टीबाट दीपकबहादुर सिंह हेटौंडा मेयरका उम्मेद्वार छन् ।

राप्रपा केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, पार्टी वागमती प्रदेश उपाध्यक्षको भूमिकामा रहेका नेता अधिकारीले पार्टी मकवानपुर सभापतिको भूमिका निर्वाह गरेका थिए । निर्वाचित वडा अध्यक्षदेखि हेटौंडा नगरको मेयरभएर आफ्नो दायित्व निर्वाह गरेका अधिकारी पछिल्लो समय राप्रपालाई एकतावद्ध बनाउने अभियानमा सक्रिय थिए । उनले राप्रपाबाट अलग भएर हाल स्वतन्त्र रहेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here