Sunday, May 5, 2024

वागमतीका विभिन्न जिल्लामा बर्डफ्लु नियन्त्रणका लागि प्रयास

ताजा / भरखरै प्राप्त

-हरि हुमागाईं

हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–२, आँपचौर स्थित एक कुखुरा फर्ममा बर्डफ्लु देखियो । किसानले खोरमा पालेका कुखुरामा बर्डफ्लु देखिएपछि केही कुखुरा मरे र केहीलाई पशु चिकित्सकको सल्लाहमा मारिएको थियो ।

कुखुरा मर्न थालेपछि बर्डफ्लु जाँच गरिएको थियो । उक्त क्षेत्रमा कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु एचफाइब एनवान नामक भाइरस संक्रमण भएको पुष्टि भएको पशुसेवा विज्ञकेन्द्र मकवानपुर प्रमुख डा. व्रजकिशोर ठाकुरले जानकारी दिए ।

मकवानपुरका दश वटै स्थानीय तहमा किसानले कुखुरापालन गर्ने गरेका छन् । सबभन्दा धेरै हेटौंडाको कमाने र चुरियामाई क्षेत्रमा कुखुरापालन हुने गरेको छ । बर्डफ्लु रोग फैलन नदिन लागि किसान सचेत हुँदा हुँदै पनि देखापर्ने गरेको छ ।

मकवानपुरमा २०६९ र २०७५ सालमा बर्डफ्लु देखिएको थियो । जिल्लामा करिब १ हजार ३ सय कुखुरापालक किसान छन् । कुखुरापालक किसानका लागि महामारीका रुपमा लिइएको बर्डफ्लु रोगलाई समयमा रोकथाम गर्न नसके यसले ठूलो क्षति पु¥याउने जानकारहरु बताउँछन् ।

पछीमा लाग्ने संक्रामक रोग बर्डफ्लु चितवनका विभिन्न ठाउँका व्यावसायिक कुखुरा फार्ममा पनि देखापरेको छ । जिल्लास्थित बर्डफ्लु नियन्त्रण समितिको बैठकले रोग पुष्टि भएका ३ ठाउँका फार्मका कुखुरा नष्ट गर्ने निर्णय गरेको छ ।

चितवनमा थप २ ठाउँमा पनि बर्डफ्लु पुष्टि भएको र पक्षी नष्ट गरिएको छ । चितवनको खैरहनी–२ मा रहेको किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालिलाई केन्द्र मानेर त्यस नजिकका चारै दिशाका पक्षी, सम्बन्धित सामग्री र उत्पादन नष्ट गरिएका हुन् ।

भरतपुर–८ मा मदनकृष्ण मानन्धरले पालेको लेयर्स कुखुरा फार्म र भरतपुर–२३ मा खेमलाल भुसाल र चन्द्र भुसालले पालेको कमर्सियल लेयर्स कुखुरा फार्मका पनि कुखुरा र सम्बन्धित उत्पादन नष्ट गरिएको छ ।

बर्डफ्लु देखिएका स्थानको ७ किलोमिटर परिधिभित्र कडा निगरानी राख्ने पनि समितिले जनाएको छ । बर्डफ्लु प्रभावित क्षेत्रबाट कुखुरा र पक्षीसँग सम्बन्धित पदार्थ र उत्पादन ओसारपसार गर्न नपाउने निर्णय पनि समितिले गरेको छ ।

मकवानपुर र चितवनमात्र होइन, वागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु रोगको संक्रमण फैलिएको छ । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले बर्डफ्लु रोग फैलिएकाले यसबाट सचेत हुन आग्रह गरे । बर्डफ्लु देखिएका स्थानमा पक्षी नष्ट गरिएको र क्षतिवापत् रकम समेत दिइने मन्त्रालयका सचिव पाण्डेले बताए ।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो । प्रदेशमा माघ १६ गतेदेखि हालसम्म संक्रमण विभिन्न जिल्लामा फैलिरहेको उनले बताए । बर्डफ्लु संक्रमण देखिएका स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

कुखुरामा बर्डफ्लु देखिन थालेपछि यसको परीक्षणलाई तीव्रता दिइएको वागमती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डा. मुगलप्रसाद साहले जानकारी दिए । पशुपक्षीमा कुनै रोग लागे यसको परीक्षण गर्ने, औषधि उपचार गर्ने, किसानलाई सचेत गराउनेलगायत नियमित कामहरु भइरहेको उनले बताए । चितवन जिल्लामा कुखुराको सख्या धेरै भएकाले बर्डफ्लुको जोखिम पनि निकै रहेको निर्देशक साहले बताएका छन् ।

संघीय सरकारले तोकेको मापदण्ड र नीतिअनुसार कृषकलाई राहतस्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको सचिव पाण्डेले बताए । मन्त्रालयले बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि विभिन्न पहल गरिरहेको जनाएको छ ।

प्रदेशका अन्य जिल्लामा रोग फैलन नदिन परीक्षणको दायरा फराकिलो बनाइएको छ । एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परीक्षण र निगरानी बढाइएको मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख तथा प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए ।

संक्रमणको जोखिम बढ्न नदिन र रोग नियन्त्रणका लागि प्रदेश सरकारले मातहत निकायमा कार्यरत् पशु चिकित्सक तथा कर्मचारीलाई लामो बिदामा नबस्न तथा जिल्ला नछाड्न पत्राचार गरेको छ । सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्दबाट ¥यापिड टेष्ट किटबाट परीक्षणको व्यवस्था मिलाइएको छ ।

संक्रमित पक्षीको ओसारप्रसारमा पनि कडाइ गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पक्षीपालक व्यवसायीले ढुवानीका लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाइ गर्ने र ¥यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता कँडेलले जानकारी दिए ।

नेपालमा पहिलो पटक सन् २००९ मा बर्डफ्लु रोग देखापरेको थियो भने तत्पश्चात् विभिन्न जिल्लामा कृषक÷व्यवसायीले पालन गरिरहेका पक्षीमा रोगको संक्रमण देखिएको छ । उक्त रोग लागिसकेपछि पक्षीहरुमा अधिक मृत्युदर हुने हुँदा कृषक र व्यवसायी पक्षीपालन व्यवसायबाट पलायन हुने अवस्था सृजना हुने र खाद्य तथा पोषण सुरक्षामा असर पर्ने प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका पशु चिकित्सक डा. बबलु ठाकुरले बताए ।

कसरी नियन्त्रण ?
विषाणुबाट लाग्ने बर्डफ्लु रोगे नियन्त्रण समयमा गर्नु सबैको दायित्व र कर्तव्य पनि हो । पक्षीपालनमा बर्डफ्लु रोगको निरन्तर संक्रमणका कारण कृषक र व्यवसायीले व्यहोर्ने पर्ने क्षति न्यूनीकरण र रोगलाई थप फैलन नदिन कृषि तथा पशुपक्षी विकास मन्त्रालय, वागमती प्रदेशले सम्बन्धित सबै सरोकारवालाहरुसँग समन्वय गरी योजनावद्धढंगबाट कार्यक्रम अगाडि ल्याएको जनाएको छ ।

प्रदेशभित्र रोग नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न कृषि तथा पशुविज्ञान अध्ययन संस्थानसँग छलफल भइरहेको छ । कृषकलाई बर्डफ्लु रोगको छिटो सूचनाप्रवाह गर्ने कार्य सहजीकरणका लागि टोलफ्रि नम्बरको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles