‘मनहरी गाउँपालिका’ उठ्न थाल्यो क्षेत्रीयताको सबाल

0
398

हेटौंडा–साबिकका दुई ठूला गाउँ विकास समितिहरु हाँडीखोला र मनहरीलाई गाभेर निर्माण गरिएको मनहरी गाउँपालिकाभित्र क्षेत्रीयताको सबाल उठ्न थालेको छ ।

पाँच वर्षअघि राप्तीखोला पारि रहेको हाँडीखोला र वारिको मनहरी गाउँ विकास समितिलाई गाभेर बनेको बनाइएको पालिकालाई ‘मनहरी’ नामाकरण गरिएको थियो । पालिकाको नाम मनहरी राखेर प्रशासनिक केन्द्र पनि मनहरीकै भूगोलमा राख्ने निधो भएको थियो । सोहीबमोजिम हाल मनहरी गाउँपालिका वडा–९, रजैयामा गाउँपालिकाको कार्यपालिका चलिरहेको छ ।

नयाँ संविधान बनेपछिको पहिलो स्थानीय तह निर्वाचन भएर पाँच वर्ष कार्यकाल गुजारिरहँदा साबिक हाँडीखोला अर्थात् राप्तीपारिको भूगोलले क्षेत्रीय हिसाबले कार्यसम्पादन र राजनीतिक नेतृत्वको समीक्षा गर्न थालेको छ । कारण हो–साबिक हाँडीखोलातर्फको विकास र नेतृत्वमा पहुँच बृद्धि नहुनु ।

एक राजनीतिक कार्यकर्ताले पाँच वर्षे अवधिमा साबिक हाँडीखोला क्षेत्रलाई पछि पार्ने गरी काम भएको गुनासो गरे । ‘साबिक हाँडीखोला तर्फमात्रै ५ वटा वडा छन्,’ उनी भन्छन्–मनहरीतर्फ जम्मा ४ वटामात्र वडा छन् । तापनि बजेट निर्माण, नेतृत्वमा अवसरलगायत कुरामा मनहरीमात्र अघि सरेको देखिएको छ ।

त्यसो त साबिक मनहरीतर्फ गिटी, बालुवा उत्खनन् र निकासीको स्रोत रहेकाले स्वभाविकरुपमा राजस्व बढी संकलन हुने गर्छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने हाँडीखोलाका कतिपय बस्तीहरु मनहरीभन्दा पनि दुरदराजका छन् । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायत क्षेत्रमा हाँडीखोला क्षेत्रलाई पछाडि पारिएको हाँडीखोलाबासीले अनुभूत गरेको ती कार्यकर्ता बताउँछन् ।

नाम, प्रशासनिक भवन र मूल नेतृत्व नै मनहरीतर्फ पुगेको हाँडीखोलाबासीलाई त्यस्तो लाग्नु स्वभाविक मानिएको छ । किनकि, पहिलो निर्वाचनबाट निर्वाचित अध्यक्ष एकराज उप्रेती नै मनहरीतर्फका हुन् । उपाध्यक्ष मनिला बिष्ट हाँडीखोलातर्फकी । स्थानीय सरकारमार्फत् घरघरमै सिंहदरबार आइरहेको दाबी भइरहँदा हाँडीखोलाबासी असजिलो गरी मनहरीको नेतृत्वलाई स्वीकार गरेको अनुभूत सबै राजनीतिक पार्टीहरुमा हुन थालेको छ । कतिपयले त हाँडीखोलातर्फका वडाहरुलाई हेटौंडा उपमहानगरपालिकातर्फ नै गाभ्नुपर्ने समेत तर्क गर्न थालेका छन् ।

तर, हालका लागि त्यो बहस पनि चियागफमै सीमित छ । यद्यपि, मनहरी गाउँपालिकाले निर्माण थालेको ५ वटा पक्की पुल र लामीटार हुँदै मकरीसम्मको बाइपास सडक निर्माणसम्पन्न भए हाँडीखोलातर्फको भौतिक विकास देखिनसक्छ । तर, पाँच वर्ष अवधिमा ती कामहरु सम्पन्न गर्न नेतृत्वले नसकेको तीतो यथार्थ मनहरीबासीसँग छ ।

हाल मनहरी गाउँपालिकाको मूल नेतृत्व हाँडीखोलातर्फले गर्न पाउनुपर्ने भन्दै स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक पार्टी र गठबन्धनबीच द्वन्द्वसमेत दबाब सिर्जना भएको थियो । तर, जतिसुकै दबाब सिर्जना गरिए पनि हाँडीखोलातर्फका नेताहरुले मनहरीको नेतृत्व पाउन अझै पाँच वर्ष पर्खनुपर्नेछ । किनकि, एमाले, कांग्रेस, समाजवादी र राप्रपा सबैले मनहरीतर्फबाट अध्यक्ष उम्मेद्वार खडा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here