सञ्जालको स्वतन्त्रता

0
792

काठमाडौँ — भिनेत्री एलिजा गौतमले ‘काला चस्मा…’ बोलको हिन्दी गीतमा गरेको ट्वेर्क स्टेपलाई लिएर अहिले सामाजिक सञ्जालमा ‘हंगामा’ मच्चिएको छ । तीजको कुनै कार्यक्रममा उनले चार हातपाउ टेकेर कम्मर उफार्दै नाचेको भिडियो भाइरल भइरहँदा अन्य महिलाले पनि हिजोआज त्यही स्टेप दोहोर्‍याइरहेका छन् । त्यस्ता भिडियो टिकटक, फेसबुक, ट्वीटर जताततै बग्रेल्ती देखिन्छन् ।

नाच्नेहरू एकातिर आफ्नै तरिकाले रमाइरहेका देखिन्छन् भने यसको स्टेपलाई लिएर आलोचकहरू पनि जन्मिइरहेका छन् । सञ्चारकर्मी रमा सिंहले त यसलाई ‘आइमाईको नाममा कलंक’ भन्दै टिप्पणी गरिन् । ‘तीजअघिको नौटंकी’ भन्दै ट्वीट गरेपछि महिला अधिकारकर्मीले उनको आलोचना गरेका छन् ।

कर्मचारी पोसाकमा ट्वेर्क गरेका बबई गाउँपालिकाका स्वास्थ्यकर्मीलाई त सामाजिक सञ्जालमै माफी माग्नसमेत लगाइएको छ ।

भड्किलो, उच्छृंखल वा बारमा गरिने डान्स स्टेप भनेर एकातर्फ ट्वेर्कको आलोचना गरिएको छ भने अर्कोतर्फ सामान्य डान्स स्टेपलाई लिएर यत्रो कोकोहोलो मच्चाएकामा महिला अधिकारकर्मीले प्रश्न उठाइरहेका छन् । ‘कसैलाई होच्याउने, ठेस पुर्‍याउने काम पो गर्नुभएन, संसारभरि नाचिने नाचको एउटा स्टेपमा किन यत्रो आपत्ति ?’ महिला अधिकारकर्मी हिमा विष्ट भन्छिन्, ‘यसरी नाच्दा पुरुषले ताली पाउँछन्, महिलालाई गाली गरिन्छ । पुरुषले दौरा–सुरुवाल लाएर घूस खानुहुन्छ, दारु खानुहुन्छ, महिला कर्मचारीले चाहिँ कार्यालय पोसाकमा नाच्दा माफी माग्नुपर्छ !’

लमजुङकी रामदेवी थापाले पछिल्ला केही सातायता धमाधम तीजका भिडियो पोस्ट गरिरहेकी छन् । फेसबुक र इस्टाग्रामका स्टोरीमा पनि ‘चरी जेलैमा…’ देखि ‘काला चस्मा…’ मा नाच्दै गरेका भिडियो हरेक दिनजसो आइरहेका हुन्छन् । ‘तीजमा यसो रमाइलो गरौं भनेर भिडियो बनाएकी हुँ,’ दुई सन्तानकी आमा उनले भनिन्, ‘पहिले–पहिले टिकटक, फेसबुक थिएनन् । हात–हातमा मोबाइल थिएन । अहिले सबैथोक उपलब्ध हुँदा तिनको उपयोग किन नगर्ने ?’ उनको गाउँ पामचोकका महिला समुदायले हालै आयोजना गरेको दर खाने कार्यक्रममा पनि मनग्गे नाचगान चल्यो । रामदेवीलगायत सहभागीले त्यसको फेसबुक लाइभ गरे ।

‘नाच्न गएन भने हाम्रो गाउँमा फाइन (जरिवाना) लाग्छ,’ उनले भनिन्, ‘महिलाहरू नाच्दा यहाँ कसैले खिसी गर्दैनन् । सबै मिलेर नाचगान गर्दा, भिडियो बनाउँदा, सोसल मिडियामा लाइभ गर्दा तारिफै गरेको सुन्छु ।’

पछिल्लो समय सोसल मिडियामा भाइरल भएको ‘ट्वेर्क’ स्टेपप्रति रामदेवीले उति आपत्ति जनाइनन् । योग, व्यायाममा यस्ता स्टेप गरिने उनको भनाइ छ । ‘योग गर्दा पनि कम्मर भाँच्ने, उफार्ने गरिन्छ,’ उनले भनिन्, ‘नाचमा पनि त्यही गरेको हो । त्यो स्टेप नराम्रो भएको भए सबैले किन सिको गर्थे र ?’ ट्वेर्क स्टेपलाई लिएर यतिविघ्न लड्नुभन्दा महिलाका गम्भीर मुद्दामा बहस हुन आवश्यक रहेकोबारे हिमालगायत अधिकारकर्मीहरूले ट्वीटरमा औंल्याएका छन् ।

यसरी पछिल्ला वर्ष तीजको लहर समाजबाट सञ्जालमा पुगेको छ । त्यहाँ हुने बहसहरू तीजको धार्मिक/सांस्कृतिक/सामाजिक महत्त्वमा मात्रै सीमित छैनन्, महिलाका हकअधिकार र लैंगिक समानताका विषयहरूमा पनि केन्द्रित हुने गरेका छन् । तीजका सकारात्मक र नकारात्मक पाटामा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भनाइ र भोगाइ साटासाट गरेको देखिन्छ ।

‘तीजलगायत चाडपर्वबारे सामाजिक सञ्जालमा आलोचनात्मक बहस भइरहेका छन्,’ समाजशास्त्री मीना पौडेल भन्छिन्, ‘तीज सुधारिनुपर्छ, विकृति बढ्यो, तीजका गीतलाई रत्यौली बनाइयो भन्ने कुरा आएका छन् । यसले सुधारका निम्ति चेतना दिएको छ ।’ उनका अनुसार आप्रवासी कामदार वा विदेशमा रहेका नेपाली, घरबाहिर वा छुट्टिएर बसेका परिवारलाई भर्चुअल रूपमै भए पनि भेट्ने, रमाइलो गर्ने, सान्त्वना दिने सामाजिक सञ्जालले प्रदान गरेको छ ।

समाजशास्त्री पौडेलले भनेझैं अहिले सामाजिक सञ्जालमा तीजको मनग्गे रौनक देखिन्छ । सञ्जाल प्रयोगकर्ताहरू फोटो, भिडियो सेयर गरिरहेका छन्, दरका कार्यक्रममा फोटा र भिडियो खिच्नेको छुट्टै व्यस्तता देखिन्छ । सामाजिक सञ्जालले चाड मनाउने शैली र रीतिरिवाजको तौरतरिका फेरिदिएको छ । विवाहको रीतमा हल्दी, मेहेन्दी, संगीतका कार्यक्रम थपिएका छन् । रक्षा बन्धन सबैले मान्न थालेका छन् । आदिवासी मूलका महिलाहरू पनि तीजमा दर खाने, व्रत बस्ने, रातो पहिरन र गरगहना लगाउन थालेका छन् ।

तीजलगायत चाडपर्वको शैली फेरिनुमा सामाजिक सञ्जालको मुख्य देन रहेको प्रविधि र समाज अध्ययन गर्नेहरू बताउँछन् । ‘देखावटीपन धेरै बढेको छ,’ टिकटकमा सक्रिय कांग्रेसकी विद्यार्थी नेतासमेत रहेकी पूजा फुयाल भन्छिन्, ‘टिकटकमा जे भाइरल भयो, त्यही ट्रेन्ड सबैले फलो गर्छन् । सांस्कृतिक मूल्यमान्यताको हेक्का राख्ने चलन छैन । सबैथोक सामाजिक सञ्जालमुखी भएको छ ।’

समाजशास्त्री पौडलको बुझाइमा चाहिँ चाडपर्वका तिथिमितिको सूचना दिन र पर्व मान्न/मनाउन सामाजिक सञ्जालले सबैलाई उत्प्रेरणा दिइरहेको छ । यसरी हेर्दा पर्वलाई निरन्तरता दिन यसले एक हिसाबले मद्दत पनि गरेको छ । ‘पहिला सोसल मिडिया नहुँदा वा सञ्चारका सीमित स्रोत उपलब्ध हुँदा मान्छेले कहाँ के भइरहेको छ, कुन पर्व कहिले छ भन्ने पनि थाहै नपाउने स्थिति थियो,’ उनले भनिन्, ‘पर्वबारे सुसूचित गर्ने र पर्व मनाउन मान्छेलाई तताउने काम सोसल मिडियाले गरिरहेको छ । यो सकारात्मक कुरा हो ।’

विदेशमा जन्मे–हुर्केका नयाँ पुस्ताका नेपालीले सामाजिक सञ्जालमार्फत नै नेपाली चाडपर्व र रीतिरिवाज देख्न, बुझ्न र सिक्न पाइरहेका छन् । नेपालमा भएका विदेशी कूटनीतिक नियोगहरूले पनि तीजलगायत कार्यक्रम आयोजना गरेर त्यसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा साझा गर्छन् । पोहोर अमेरिकी दूतावासका राजदूत र्‍यान्डी बेरीले ‘हामी पनि नाच्नुपर्छ बीच बीचमा…’ गीतमा नाचेको भिडियो दूतावासले आफ्नो सोसल मिडिया च्यालनहरूमा पोस्ट गरेको थियो । सामाजिक सञ्जाल र सूचना प्रविधिले एक–अर्काका चालचलन र चाडबाडलाई अन्तर्घुलन गर्न सघाइरहेका छन् ।

यद्यपि, सञ्जालकै कारण देखासिकी र तडकभडक बढेको, तीजका गीतहरू रत्यौलीजस्ता भएको भन्ने खालका गुनासा पनि सञ्जालतिरै सुनिन्छन् । महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष रीता सिंह महिलाले देखासिकीमा अनावश्यक तडकभडक र खर्च गरिरहेको बताउँछिन् । ‘सम्पन्नले जे पनि गर्न सक्लान् तर विपन्नलाई अनावश्यक दबाब हुन्छ,’ उनले भनिन्, ‘यसले समाजमा विभेद निम्त्याइरहेको छ ।’

कार्यालयपिच्छे तीजका दर खाने कार्यक्रम आयोजना गर्ने, ड्रेस कोड (एउटै रङका सारी–चोलालगायत) कायम गर्नेजस्ता चलनलाई पनि कतिपयले विकृति मानेका छन् । सञ्जालले तीजलाई ‘ग्ल्यामराइज्ड’ गरेको व्यवसायी सिंह बताउँछिन् । ‘सोसल मिडियामा छाउन वा प्रचारमा आउन मान्छेहरूले भड्किलो तरिका अपनाउने गरेको देखिन्छ,’ उनले भनिन्, ‘यसको सांस्कृतिक मूल्यमान्यताको ख्याल नगरीकन पर्वलाई उत्ताउलो बनाउने र चाहिनेभन्दा बढी ग्याल्मराइज्ड गर्ने काममा सामाजिक सञ्जालले भूमिका खेलेको छ ।’

महिला अधिकारकर्मी विष्टलाई पनि हाम्रा चाडपर्व बजारीकरण भएका हुन् भन्ने लाग्छ । तर, तीज महिला विशेष चाड भएकाले अन्य पर्वभन्दा यसको बढी आलोचना हुने गरेको उनी पाउँछिन् । ‘यसलाई धर्मसँग जोडेर महिलाले के गर्नुहुन्छ, के गर्नु हुँदैन भनेर मोरल पोलिसिङ गर्ने गरिएको छ,’ विमेन लिड नेपालकी कार्यकारी निर्देशकसमेत रहेकी विष्ट भन्छिन्, ‘समयअनुसार चाडपर्व मान्ने, मनाउने चलन फेरिनु स्वाभाविक हो । अरूलाई होच्याउने, उडाउने, ठेस पुर्‍याउने काम गर्नुभएन । बाँकी त आफूलाई मनपर्ने जसरी नाचगान, रमाइलो गर्न, फोटो खिच्न, भिडियो बनाउन पाइन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here