Saturday, May 18, 2024

नो नट अगेन भन्न पाउनुहुन्छ तर सभ्य भाषामा भनिदिनुस् : प्रमुख आयुक्त थपलिया

ताजा / भरखरै प्राप्त

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । सोमबार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्या लगायत दुष्परिणामयुक्त शब्दहरू प्रयोग गर्न नहुनेप्रति सचेत गराएका थिए ।

उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताएका थिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए ।

‘नो नट अगेन’, ‘नो नेभर अगेन’, ‘इलेक्ट एण्ड अगेन’, ‘इलेक्ट अगेन एण्ड अगेन’ जस्ता शब्द भन्नलाई आयोगले नरोकेको तर यस्ता कुरा भन्दा सभ्य भाषाको प्रयोग गर्न थपलियाले सचेत गराएका थिए । ‘लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्र हत्या गर्ने कुरा, मिथ्या सूचना दिने कुरा, दुष्प्रचार गर्ने कुरा र घृणास्पद अभिव्यक्ति दिने कुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन । हामी विभिन्न जातजाति, क्षेत्र, सम्प्रदाय, उमेर समूहका छौं । निर्वाचनको विषय जोडेर यी विषयसँग सम्बन्धित कुराहरुलाई राखेर, कसैलाई कुनै पनि किसिमले लाञ्छित गर्न पाइँदैन । गालीगलौज गर्न पाइँदैन हामीले भनेका हौं । अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौं । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो । यो सुन्दर सागरमा दुष्प्रचार, मिथ्या सूचना र चरित्र हत्या गर्ने किसिमका पहरे नबिसाइदिनुहोस् भनेको मात्रै हो, त्यसकारण यहाँले भनेजस्तै भाषामा सिधै भन्ने हो भने यहाँहरुले मजाले नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ । मित्रवत भाषामा भन्नुपर्छ । समाजले पचाउने भाषामा भन्नुपर्छ । सामाजिक सञ्जाल भनेर असामाजिक किसिमका कुनै पनि कुराहरु त्यहाँ राखिदिनु हुँदैन भनेका हौं,’ प्रमुख आयुक्त थपलियाले भनेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहिता कडाइ गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजबाट निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिबद्ध रहेको बताए । उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहीत रुपमा सम्पन्न गर्न कलाकारहरुको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै कलाकारहरुलाई निर्वाचनसम्बन्धी सूचना प्रचारप्रसार गरिदिन आग्रह गरे । सभार-कान्तिपुरबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles