हेटौंडा–हेटौंडा उपमहागरपालिका वडा–११ को अध्यक्षको दाबेदारी ३ जनाले गरेका छन् । नेकपा एमालेबाट जुना दाहालले उम्मेद्वारी दिएकी छन् । सिन्धुपाल्चोक जिल्ला ठोकरपा गाविसमा बासुदेव दाहाल र विद्यादेवी दाहालकी छोरीकी रुपमा २०३७ बैशाखमा जन्मिएकी उनले एमए गरेकी छन् ।

उनी २०४७ सालदेखि राजनीतिमा सक्रिय हँुदै २०५० सालमा अनेरास्ववियुका प्रारम्भिक कमिटी सदस्य भएकी थिइन् । अनेरास्ववियु जिल्ला र अञ्चल हुँदै उनी केन्द्रीय सदस्यसमेत भइन् ।

विद्यार्थीकालपछि नेपाल टे«ड युनियन महासंघको अञ्चल कमिटी सदस्य र महिला कमिटी अध्यक्ष भएर ८ वर्ष काम गरिन् । अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य र नेकपा एमाले पार्टीको जिल्ला सचिवालय सदस्यसमेत रहेकी दाहालसँग १२ वर्ष पत्रकारिता गरेको अनुभव पनि छ । २०७४ सालको चुनावमा राम्रो मत ल्याएर ११ नम्बर वडा सदस्यमा निर्वाचित भएपछि उनले ५ वर्ष सदस्यको अनुभव संगालेकी छन् ।

माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेद्वारी दिएका मधु थापामगर(विशेष) पनि वडामा लोकप्रिय उम्मेद्वार हुन् । सिमलटार दुग्ध डेरी र चिया पसल सञ्चालन गर्दै आएका मगर सामान्य साइकल चढ्छन् ।

सिमल्टार टोल विकास संस्थाको ३ कार्यकाल अध्यक्ष रही राप्तिखोला तटवन्ध गरी वर्षाको बेलामा बाढीको जोखिमबाट बस्ती जोगाउने अभियानमा प्रमुख भूमिका निर्वाह गरेका थिए ।

उनले उक्त टोलमा खानेपानीका लागि ट्युबवेल जडान, बत्ती, बाटो स्ल्याब ढलान गरी बाटोको स्तरोन्नति, कोभिडको महामारीमा राहत वितरण, लालपुर्जाका लागि फारम भर्न र गाउँमा नापी गराउने काममा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । टोलमा बुद्धचोक र विभिन्न चोकको नामाकरण र निर्माणमा पनि उनले भूमिका निर्वाह गरेका छन् ।

समाजसेवा अग्रसर रहने शालिन नेताका रुपमा परिचित अक्कलबहादुर क्षेत्री (तीर्थ) ले स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् । उनी युवाहरुका माझ लोकप्रिय मानिन्छन् । तीनै जना उम्मेद्वारहरु आआफ्नो क्षेत्रमा लोकप्रिय छन् । काम गर्न सक्छन् । अब वडा अध्यक्षको बाजी मार्ने अब्बल खेलाडी को निक्लने हो, त्यो स्थानीय तह निर्वाचनको मतपरिणामले देखाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here